गरिवको उपचार कसले गर्ने ?



सन्तोष अधिकारी
घोराही, भदौ ९ । घोराही उपमहानगरपालिका ८ दुन्द्राका ३८ वर्षिय चन्द्रप्रसाद वली बोनम्यारोको समस्याले तीन वर्षदेखी विरामी छन् । निम्न मध्यम वर्गिय परीवारका चन्द्रप्रसादको आर्थिक अभावका कारण उपचार सम्भव भएन । आफुसंग भएको सम्पत्ती बेचेर उपचार गराउदा गराउदा हैरान भएका वलीले जीवन वचाईदिन सञ्चार माध्यम तथा सामाजीक सञ्जालमा अनुरोध गरे । सहयोगी हातहरुको सहयोगले अहिले काठमाण्डौको सिभिल हस्पिटलमा उनको उपचार भैरहेको छ ।

अस्पतालमा भर्नाहुँदा विल तिर्न नसक्ने भएपछि चन्द्रप्रसाद अहिले घरमै बसेका छन् । उनकी बहिनीले सामाजीक सञ्जाल मार्फत सहयोगको अपिल गरेपछि धेरथोर रकम जम्मा भैरहेको छ ।आर्थिक अवस्था कमजोर भएका चन्द्रप्रसादले भारतको पञ्जावमा रहेको एक होटेलमा काम गर्थे । २०७३ सालमा कामगर्ने शिलसिलामै ग्राहकले मेवाईलमा बजाएको गितको ठुलो आवाजले उनलाई चक्कर लाग्यो र वेहोस भए ।

होटलकै अर्को सहकर्मीको सहायताले उनलाई अस्पताल भर्नागरी होटेलकै मालीकले उपचार गरेको चन्द्रप्रसादले बताए ।“पञ्जाबका विभिन्न अस्पतालमा जाँचगर्दा रोग पत्ता नलागेपछि होटल मालीकले फरीदकोट मेडिकल कलेजमा लग्यो त्यहाँ जाँच गर्दा बोनम्यारोमा समस्या देखीएकोले ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव दियो” चन्द्रप्रसादले भने । ४९ दिन उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि २ वटा औषधि दिएर अस्पतालले विदा दियो ।

अस्पतालले विदा दिएपछि चन्द्रप्रसाद घर आए । घर आएर केही समय बस्दा स्टिम खाना खादा स्वास्थ्यमा केही सुधार भयो । ढाडदेखी केहितल पुठामा घाँउ थियो त्यो घाउको अप्रेसन भएपछि शरीरमा केही आरामको भएको महशुस गरी उनी फेरी पुरानै काममा फर्किए । २०७६ सालको असार महिनामा कोरोनाको संक्रमणका कारण गाडि रिजर्व गरी चन्द्रप्रसाद दाङ आए ।

१४ दिन क्वारेन्टिनमा बस्दा उनलाई फेरी समस्या देखियो । घोराहीमा रहेका अस्पतालमा उपचार गरी लकडाउनकै विचमा उनलाई असार २४ गते काठमाण्डौको सिभिल अस्पतालमा भर्ना गरि उपचार सुरुभयो । त्यतीवेला सम्म उनको पिसाववाट रगत आउन थालीसकेको थियो । “डाक्टरले भारतमा जाँच गरेका सवै रीपोर्ट हेरेपनि विश्वास नगरेका कारण पुनः सवै परिक्षण गरी चन्द्रप्रसाद अहिले घरमा बसीरहेका छन् । “बोनम्यारोको रीपोर्ट भदौमा आउने जानकारी पाएपछि अस्पतालमा बसीरहन पैसा भएन र घर आयौ” चन्द्रप्रसादले भने । उनका ९ र ६ वर्षका २ छोरा र श्रीमती छन् । “गरीवहुनुपनि पनि पिडा नै रहेछ आफुसंग उपचार गर्ने पैसा नभएपछि हामी जस्ताको उपचार कसले गरीदिने” पिडावाटै भावुक हुदै चन्द्रप्रसादले भने ।

भारतमा जाँच गर्दा बोनम्यारो प्रत्यारोपण नै अन्तीम विकल्प भएको डाक्टरले बताएका थिए । तर प्रत्यारोपण गर्नपनि पनि २५ लाख लाग्ने डाक्टरहरुको अनुमान रहेको चन्द्रप्रसादकी बहिनि सुनिताले जानकारी दिईन् । आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गर्नुपरेको सुनिताले बताईन् । “अहिले सम्म देश विदेशमा रहेकाहरुले कुनै न कुनै माध्यमवाट सहयोग गरीरहनुभएको छ” सुनिताले भनिन् ।

सवैले सहयोग गरे दाईलाई बचाउन सकिन्छ की भनेर सहयोगको याचना गर्दा अहिले सम्म ५ लाख रुपैया सहयोग मिलेको सुनिताले बताईन् । चन्द्रप्रसादको दुःख देखेर जापानमा रहेका नेपाली तथा नेपालमै रहेका सहयोगी हातहरु जुट्न थालेका छन् । गरिवले उपचार गर्न कठिन रहेको चन्द्रप्रसादले बताए । “गरिवलाई बाँच्नै गाह्रो रैछ, ठूलो रोग लागे कसरी उपचार गर्नु, कसैले सहयोग नगरे उपचार नपाएरै मर्ने हो । आफ्नो सम्पत्तीले ज्यान बचाउन सकिदोरहेन छ” चन्द्रप्रसादकी बहिनि सुनिताले भनिन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका २ कुमलगढीकी ममता चौधरीपनि आर्थिक अभावमा उपचार नपाई छटपटाई रहनुभएको छ । चौधरीका दुवै मृगौला फेलभई विगत तीनवर्ष देखी डाईलासिसको भरमा बसिरहेकी छिन् । जनताको मुक्तिको पक्षमा १० वर्षे जनयुद्धमा जीवन समर्पण गरेकी ममता आज आर्थिक अभाबमा मृत्य संग जुधिरहेकी छिन् ।

विगत एकवर्षदेखी राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली काठमाण्डौमा डाईलासीस गरिरहेकी ममताले आर्थिक अभाब भएको बताईन् । “मृगौला प्रत्यारोपण गर्न धेरै महंगो भएकोले सहयोगको लागी सवैलाई अपिल गरेकी छु, सवैले सहयोग गरीदिएर मेरो जीवन बचाईदिनुस्” चौधरीले भनिन् । अहिले ठुला रोग लाग्दा उपचार नपाएरै मर्नुपर्ने बाध्यता नेपालीहरुको छ ।

“आफ्नो आर्थिक अवस्थाले उपचार सम्भव नभएपछि सामाजीक सञ्जालमा सहयोगको याचना सहित दिनहुँ पोष्ट भैरहेको हामीले देख्न सक्छौ । ती मध्ये केहीको सहयोगकै रकमले उपचार सम्भव समेत भएको छ । सवैको सानो सहयोगले एक नेपालीको जीवन बच्ने भएकोले सहयोग गरीदिनुहुन अनुरोध छ” ममताले भनिन् ।

सरकारले गरिव र असहायलाई निशुल्क उपचारको व्यवस्था गरेको कुरा खुब सुनिन्छ तर चन्द्रप्रसाद र ममताको जीवनमा भने यो सुबिधाले कतै पनि छुन सकेको छैन । असहाय वापत पाउनुपर्ने सुबिधा कसले पाइरहेको छ भन्ने कुरा उनीहरुलाई थाहा छैन । उनीहरुको समस्याबारे जिल्लाका स्वास्थ्य सरोकारवाला जानकार नै छन् तर अहिलेसम्म कसैले पनि सहयोगको प्रयास सम्म गरेका छैनन् ।

“हाम्रो अवस्था सबैलाई थाहा छ, पटकपटक सहयोग माग्दै सरकारी कार्यालयमा पुगेको पनि हो तर कसैले औषधी उपचारमा सहयोग गरेन, आफ्ना दुःख आफैसँग छन्, दुःखी गरिवलाई कसैले हेर्ने रहेनछ, सबै हुनेका पछि लाग्छन्” उनीहरुले भने ।

SHARE THIS