उपराष्ट्रपतिमा वाइडेनले छाने कमला ह्यारिसलाई, बनिन् पहिलो अश्वेत अमेरिकी महिला उम्मेदवार

भारतीय मूलकी कमला ह्यारिस अमेरिकी ...

न्यू योर्क, साउन २८ । आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनका डेमोक्रेटिक उम्मेदवार जो वाइडेनले उप राष्ट्रपति पदका लागि सिनेटर कमला ह्यारिसलाई छनौट गरेका छन्।

हप्तैको अनुमानलाई अन्त्य गर्दै उनले मंगलबार कमलालाई नोभेम्बरमा हुने निर्वाचनमा उप राष्ट्रपतिका रूपमा आफ्नो साथमा उभ्याउने घोषणा गरेका हुन्।

ुएउटा निर्भिक योद्धा र देशको उत्कृष्टमध्येको एक जनसेवकलाई मेरो सहयात्रीका रूपमा उठाउने घोषणा गर्ने गौरव मलाई प्राप्त भएको छ, वाइडेनले ट्विटमा भनेका छन्।

क्यालिफोर्नियाकी ५५ वर्षीया सिनेटर अमेरिकी इतिहासमा राष्ट्रपति पदसँग सम्बन्धित महत्वपूर्ण पदमा टिकट पाउने पहिलो अश्वेत महिला हुन्।


वाइडेनले यसअघि नै उप राष्ट्रपति पदका लागि एक जना महिलालाई नै उठाउने स्पष्ट पारेका थिए। यस दौडमा कमलासँगै पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा सुरक्षा सल्लाहकार रहेकी सुसन राइसलाई सम्भावित बलियो उम्मेदवारका रूपमा हेरिएको थियो।

अश्वेत अमेरिकी नागरिकप्रति प्रहरीले देखाउने विभेदकारी रवैयाका कारण बितेका केही महिनादेखि अशान्त रहँदै आएको अमेरिकी परिस्थितिले पनि वाइडनलाई उप राष्ट्रपति निर्वाचनमा कुनै अश्वेत महिला उठाउनुपर्ने दबाब बढ्दै गइरहेको थियो। ह्यारिस यस पदमा टिकट पाउने पहिलो एसियन अमेरिकन समेत हुन्। उनकी आमाको जन्म भारतमा भएको थियो।

उपराष्ट्रपति पदमा आफूलाई चयन गरिएपछि ह्यारिसले वाइडनले नै अमेरिकीहरूलाई एकताबद्ध गर्ने सक्ने बताएकी छन्।

जो वाइडनले अमेरिकी नागरिकलाई एकताबद्ध गर्न सक्छन् किनकी उनले आफ्नो सारा जीवन हाम्रा लागि लड्नमा बिताएका छन्। र राष्ट्रपतिका रूपमा उनले एउटा आदर्शमा बाँच्न सक्ने अमेरिका बनाउनेछन्ु, ट्विटमा ह्यारिसले भनेकी छन्, म उनीसँग हाम्रो पार्टीका तर्फबाट उप राष्ट्रपतिका रूपमा मनोनित हुन पाउँदा गौरवान्वित भएकी छु र म उनलाई आफ्नो कमान्डर इन चिफ बनाउनका लागि जे पर्छ त्यो गर्छु।

वाइडेन र ह्यारिस बुधबार चुनावी अभियानका लागि  वाइडेनको गृहनगर विलमिङटन, डेलावेरमा पहिलोपटक एकसाथ प्रस्तुत हुनेछन्।

अमेरिकाले आजसम्म कुनैपनि महिला उप राष्ट्रपति बनेकी छैनन्।

अघिल्लो निर्वाचनमा हिलारी क्लिंटन राष्ट्रपति पदमा पहिलोपटक कुनै मुख्य दलको तर्फबाट महिला उम्मेदवार बनेकी थिइन्। उनी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।

क्यालिफोर्नियाको पूर्व महान्याधिचक्ता समेत रहेकी ह्यारिस सिनेटमा आफ्नो आक्रामक प्रश्न सोध्ने शैलीका लागि परिचित छिन्।

वर्तमान अमेरिकी राष्ट्रपतिले वाइडनको उमेरलाई लिएर उनले राष्ट्रपतिका रूपमा देखाउनुपर्ने कार्यदक्षता देखाउन नसक्ने प्रश्न ट्रम्पले उठाइरहेको सन्दर्भमा वाइडनले गर्ने उप राष्ट्रपति उम्मेदवारको छनौट महत्वपूर्ण मानिदै आएको थियो।

ह्यारिसको नाम घोषणा भएसँगै ट्रम्पको चुनावी अभियानले तुरून्तै ह्यारिसको आलोचना गरेको छ। उनीहरूले ७७ वर्षे वाइडनको राजीतिक शैली भन्दै खिसी गरेका छन्।

SHARE THIS