पूर्वमन्त्री बस्नेतका बुवामा अन्त्येष्टि गरेको चार दिनपछि कोरोना पुष्टि, मलामी गएका पाँच सय बढी क्वारेन्टिनमा


पूर्वमन्त्री बस्नेतका बुवाको अन्त्येष्टिमा सहभागी भएकाहरू। तस्बिर सौजन्य:  दीपक दुलाल।
सिन्धुपाल्चोक,साउन २८ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका क्षेत्रका मानिस  मंगलबारदेखि घरमै छन्। उनीहरूलाई नगरपालिकाले ‘होम क्वारेन्टिन’ मा बस्न भनेको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय  सदस्य मोहनबहादुर बस्नेतका बुवा खड्गबहादुर बस्नेतको अन्त्येष्टिमा सहभागी भएर फर्केको चार दिनपछि उनीहरूलाई नगरपालिकाले अबदेखि क्वारेन्टिनमा बस्न निर्देशन दिएको हो।
काठमाडौंस्थित मनमोहन कार्डियोथोसिक एण्ड भास्कुलर सेन्टरमा उपचारत बस्नेतको साउन २२ गते राति मृत्यु भएको थियो। भोलिपल्ट उनको शव अन्त्येष्टिका लागि बाह्रबिसेस्थित सुनकोशी नदी घाटमा लगिएको थियो।
सिन्धुपाल्चोकका ८४ वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा बताएको थियो।
त्यसलगत्तै बाह्रविसे नगरपालिकाले वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र, वडा नम्बर २ पूर्व कर्थली बुदेपा, दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्म चार किल्लाभित्र मानिसहरू आवतजावत गर्न, सवारी साधन चलाउन पूर्ण रूपमा निषेध गरेको हो।
नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले करिब पाँच सय मानिस बस्नेतको अन्तिम संस्कारमा सहभागी भएको पाइएको जानकारी दिए।
‘दाहसंस्कार गर्ने बेला उहाँमा कोरोना छ भन्ने थाहा थिएन। दाहसंस्कार गरेको चार दिनपछि हिजो रिपोर्ट पोजेटिभ आएपछि मानिसहरूलाई होम क्वारेन्टिनमा बस्न भनेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘करिब पाँच सय जना मानिस दाहसंस्कारमा सहभागी थिए।’

मेयर शेर्पाका अनुसार बस्नेतका परिवारका सदस्यमा कोरोना परीक्षण गर्ने तयारी छ

‘पहिले परिवारका सदस्यको स्वाब संकलन गरी परीक्षण गर्छौं। उनीहरूमा पनि पोजेटिभ देखियो भने दाहसंस्कारमा सहभागी सबैको स्वाब लिएर परीक्षण गरिन्छ,’ उनले भने।
उनका अनुसार बाह्रबिसे क्षेत्रमा व्यापार व्यवसायलगायत क्रियाकलाप बन्द गरी सिल गरिएको छ।
बस्नेतको स्वाब परीक्षणको रिपोर्ट नआउँदै अस्पतालले शव लैजान अनुमति दिएको थियो। स्वाब संकलन गरेको पाँच दिनमा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसबेलासम्म उनको अन्त्येष्टि गरेको चार दिन बितिसकेको थियो।
यस्तो हुनुमा आफूहरूको कमजोरी नरहेको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन्।

दुबै किड्नीमा आएको खराबीले बुवाको निधन भएको जानकारी डाक्टरहरूले आफूलाई दिएको उनको भनाइ छ।
अस्पतालबाट शव निकाल्न आफूले हतार नगरेको उनले बताए।
‘साउन २२ गते राति ११स्४५ बजे दुबै किड्नीको खराबीका कारण बुवाको मृत्यु भएको उपचारमा सम्लग्न स्वास्थ्य टिमले बताएका हुन्,’ बस्नेतले भनेका छन्, ‘तुरून्तै शव निकाल्न भने पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पूर्णमा जानकारी गराउँदछौं।’

उपचारका लागि बाबुलाई अस्पताल लैजाँदा सुरूमा कोरोना रिपोर्ट नेगेटिभ आएको बस्नेतले बताएका छन्।

‘डाक्टरहरूको टिमले दुबै किड्नी ड्यामेज भएकोले बुवाको मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं। दाहसंस्कारमा धेरै शुभचिन्तकहरूको सहभागिता रहेको थियो। छ घण्टामा आउनुपर्ने रिपोर्ट ढिला आयो। एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउँछौं,’ बस्नेतले भनेका छन्।

उनले थप प्रश्न गरेका छन्, ‘यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजान भन्ने अमानवीय हर्कत भयोरु’

अस्पतालका एक जना चिकित्सकले मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नआउँदै शव लैजान दिनु कमजोरी भएको बताए। आफन्तले हतार गर्दा शव लैजाने अनुमति दिइएको उनको दाबी छ।

‘उहाँको रिपोर्ट आउन ढिला भएकै हो। टिचिङमा एउटा मात्रै प्रयोगशाला छ। दिनमा मुस्किलले दुई सय जनाको रिपोर्ट आउँछ। कसैको दोहोर्‍याएर पनि गर्नुपर्ने हुन्छ,’ ती चिकित्सकले सेतोपाटीसँग भने, ‘रिपोर्ट नआउन्जेल शव लैजान दिन नहुने हो। आफन्तले हतार गरे पनि गाली खाएर भए पनि शव राखिराख्नुपथ्यो। लैजान दिइएछ।’

शिक्षण अस्पताल कोरोनाको हब अस्पताल भएको र धेरै स्वाब आउने भएकोले रिपोर्ट आउन ढिला भएको हुन सक्ने उनले अनुमान गरे।

‘यति धेरै ढिलो त हुनु नपर्ने हो। तर किन ढिला भयो हामीलाई भन्दा प्रयोगशालालाई थाहा होला,’ उनले भने, ‘स्वाब संकलन गरी चेकजाँचलाई पठाइसकेपछि रिपोर्ट नआउन्जेल अस्पतालले शव लैजान दिन हुन्नथ्यो। यसअघि कतिपय मानिसले रिपोर्ट नआए पनि शव लैजाने बताउँदा गाली खाएरै भए पनि तीनरचार दिनसम्म राखिएको पनि हो तर यसपटक के भएछ,’ उनले एकिन कारण खुलाउन सकेनन्।

SHARE THIS