दाङमा एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने

लकडाउन खुकुलो बनाउने जिप्रका दाङको निर्णय फिर्ता
दाङ, भदौ १२ । दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।

आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउन अवधिमा अत्याश्यक बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन पनि चल्न पाउने छैनन् ।

यस्तै बैठकले जिल्लामा आरटी पिसीआर परिक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । परिक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय हुने अध्यक्ष प्रियासले बताउनुभएको छ । समुदाय स्तरमा कोरोना सं क्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सील समेत गरिएको छ ।

SHARE THIS