सिसहनियाँको हरियाली र लमहीको दियो सहकारी संस्था बिच एकिकरण

No description available.

ओमप्रकाश गुप्ता 
सिसहनियाँ, भदौ ४ । दाङ देउखुरीका दुई सहकारी संस्था एकीकरण भएका छन् । राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र लमही नगरपालिका ५ लमहीमा रहेको दियो बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको हो ।

एकिकृत संस्थाको नाम हरियाली बचत तथा ऋण सहकारी संस्था राखिएको छ । भने संस्थाको केन्द्रीय कार्यालय सिसहनियाँमा रहने र लमही नगरपालिका ५ लमहीमा दियो सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा दिइने एकीकृत संस्थाका व्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिएका छन् ।गत साउन २९ गते भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नम्बर ५ रुपन्देहीबाट बैधानिक मान्यता समेत पाइसकेको छ ।

एकीकरणको प्रमाण पत्र हस्तान्तरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नम्बर ५ रुपन्देही सहकारी बिभाग प्रमुख सुरेशचन्द्र आचार्यले एकीकृत संस्थालाई बधाई तथा देशकै अग्रणी संस्था बन्न शुभकामना व्यक्त गरेका छन् । हरियालीका अध्यक्ष शिवध्वज मल्ल र दियो सहकारीका अध्यक्ष सुदिपकिरण आचार्यको संयोजकत्वमा गठित सहकारी एकिकरण कार्यदलले शिवध्वज मल्लको संयोजकत्वमा एकीकरण तदर्थ समिति बनाई विगत ६ महिना देखि लामो प्रयास गरी विधिवत रुपमा एकीकरण गर्न सफल भएको हो ।

एकीकरण पश्चात हरियाली बचत तथा ऋण सहकारी संस्था लि. ले शिवध्वज मल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र कृष्ण गिरीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । साथै एकीकरण पश्चात कुल शेयर सदस्य संख्या ३ हजार ५ जना र वासलात चौबीस करोड चालीस लाख पुगेको संस्थाको लेखा प्रणाली व्यवस्थापन नेफ्स्कूनद्वारा प्रतिपादित नेकोस प्लस सफ्टवयेर मार्फत गराइने पनि व्यवस्थापक चौधरीले जानकारी दिएका छन् ।

संस्थाले केही दिनमै सहकारी एकिकरण घोषणा सभा समेत गर्ने तयारी गरेको छ । यस अघि २०७६ कार्तिकमा जिल्लाकै लमही नगरपालिका स्थित मातृभुमी बचत तथा ऋण सहकारी संस्था लि। र सोही ठाँउको तेजस्वी बचत तथा ऋण सहकारी संस्था लि। ले एक आपसमा एकीकरण गरी तेजस्वी मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि। बाट एकीकृत कारोबार सुरु गरेको थियो ।



SHARE THIS