दाङमा अहिले रगतको अभाव

थाहा खबर: दाङमा मासिक ३ सय युनिट रगत आवश्यक, २० प्रतिशतको जिम्मा बिरामी आफैँ
दाङ,भदौ १४ । दाङको ब्लड बैंकमा ब्लडको अभाव देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण रक्तदाताहरु नै नहुँदा दाङमा अहिले रगतको अभाव भएको छ ।
रक्त सञ्चार केन्द्र दाङका अनुसार पछिल्लो समय रगतको माग बढ्दै गएको तर रक्तदान गर्नेको संख्या न्युन हुँदा अभाव भएको हो । केन्द्रका इन्चार्ज दिलीप न्यौपानेले कोरोना संक्रमणका कारण रक्तदाता नआउँदा र डाइलोसिस गर्नेहरु बढेकाले रगतको अभाव भएको बताए ।

दाङमा अहिले मासिक साढे ३ सय पोका रगतको माग भइरहेको छ । मिर्गौला रोगका बिरामी बढ्दै गएपछि डाइलोसिस गर्नेहरुलाई रगत बढी आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रले ८० प्रतिशत मागलाई धान्‍न सकेको जनाएको छ भने २० प्रतिशत रगत सम्बन्धित व्यक्तिले नै खोज्नु पर्ने अवस्था रहेको न्यौपानेको भनाइ छ ।

घोराही र तुलसीपुरमा रक्त सञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटीले लमहीबाट पनि सेवा सुरुवात गर्ने तयारी गरेको छ । यही भदौको अन्तिम सातादेखि लमहीमा पनि रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्ने तयारीका साथ काम भइरहेको न्यौपानेले बताए ।

दाङमा रगतको अभाव भइरहेका बेला विभिन्‍न अवसर पारेर रक्तदान गर्नेहरुको संख्या पनि बढ्दै जान थालेको छ । जिल्लामा जन्मदिनका अवसरमा रक्तदान गर्ने संख्यामा वृद्धि भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानले जानकारी दिए ।

SHARE THIS