
काठमाडौं,भदौ १ । काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहोराको हत्याकाण्डमा अभियुक्त र मृतकबीच आर्थिक लेनदेन नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरिएका कृष्णबहादुरका परिवारले अभियुक्त कल्पना मुडभरी पौडेलले नै पैसा प्रयोग गरेको आशंका गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको थियो ।
यसअघि कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको अनौपचारिक जानकारी आएको थियो । अनुसन्धानमा संग्लन एक अधिकारीले भने, “प्रारम्भिक रुपमा हेर्दा लेनदने देखिँदैन । कल्पनाको चल(अचल सम्पत्ति देखिए त्यसमा कसले लगानी गरेको हो भन्नेतर्फ जान सकिन्थ्यो । त्यसो पनि पाइएको छैन । गहन अनुसन्धान जारी छ । तर अहिल्यै आर्थिक सम्बन्ध देखिएन ।”
प्रहरीका अनुसार नगद लेनदेन भएको हुनसक्ने भए पनि ठूलो परिणाममा आर्थिक कारोबार भएको सम्भावना कम देखिन्छ । यसबाहेक प्रहरीले उनीहरुबीचको प्राविधिक पाटोकोसमेत अनुसन्धान थालेको छ ।
यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जनाएको छ । गत आइतबार गोंगबुमा कृष्णबहादुर बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो ।
हत्यामा संलग्न आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका ७ घर भई हाल टोखा नगरपालिका १०, नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् । शव व्यवस्थापन गर्न छोरीको सहयोग लिनुपरेको उनले बयानमा उल्लेख गरेको भए पनि हत्यामा छोरीको संलग्नतालाई उनले अस्वीकार गरेकी छन् ।
अनुसन्धानका क्रममा कल्पना र बोहोराबीच करिब ४ वर्षदेखि चिनाजान रहेको पाइएको छ ।
कृष्णबहादुर भिजिट भिसामा दुबई र त्यसपछि अफगानिस्तानमा गएर फर्किएका थिए । सो रकम कृष्णबहादुर घरपरिवारमा नदिएको पाइएको छ । त्यसैले आफन्तले कृष्णको पैसा कता गयो भन्दै आशंका गरेका हुन् । कल्पना र कृष्णबहादुरबीच फेसबुकमै चिनजान भएको थियो ।
शनिबार कृष्णबहादुर कल्पनाको कोठामा पुगेका थिए । कोठामा गएपछि उनीहरुले खानासमेत खाएका थिए । मदिरा पनि सेवन भएपछि बोहरालाई बेहोस पार्न दहीमा औषधि मिसाइएको थियो । बोहरा बेहोस भएपछि उनको आफैंले हत्या गरेको कल्पनाको स्वीकारोक्ति छ । आइतबार बोहराको शव सुटकेसमा, टाउको र गोडा जेब्रा झोलामा भेटिएको थियो ।
अनुसन्धाानकै क्रममा कल्पनाको आर्थिक हैसियत कमजोर रहेको पाइएको छ ।