चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं,
२७ साउन।पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो । अन्य १२ जना घाइते भएका थिए ।

दलित भनेने समुदायका नवराजले चौरजहारीको मल्ल ठकुरी थरकी केटी लिन जाँदा घटना भएको थियो । संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले उक्त घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् । घटनाका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन् ।

SHARE THIS