१८ महिने तालिम खारेज गर्ने सरकारको निर्णयप्रति नेविसंघको ध्यानाकर्षण


काठमाडौं,भदौ १५ । नेपाल विद्यार्थी संघले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सीएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसईई स्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघले सोमबार विज्ञप्ति जारी गरेर भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्‍न सञ्चालित तालिम बन्द गर्दा  ठूलो अन्योल छाएको जनाएको छ।

“हाल कोभिड-१९ विरुद्धको लडाइँमा अग्रपंक्तिका रुपमा कार्यरत सीएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक छ,” अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही दिनदेखि अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको ई(कमर्सलाई बन्द गरेर सरकार दायित्वविमुख र गैरजिम्मेवार बन्दै गएको नेविसंघको ठहर छ । महामारीमा प्रविधिलाई प्रयोग गरेर घरबाटै काम हुने व्यवस्था मिलाई काठमाडौं उपत्यका तथा सम्भव हुने अन्य स्थानमा सुरक्षित तवरबाट ई(कमर्सले घरघरमा अत्यावश्यक सामान पुर्‍याउने प्रबन्ध गर्नुपर्ने नेविसंघको माग छ ।

SHARE THIS