कुलमान घिसिङ भन्‍छन्- अब अँध्यारोमा फर्कनु पर्दैन

झ्याप्प झ्याप्प विद्युत् काटिएपछि ...
काठमाडौं,भदौ १ । नेपाल विद्युत् प्राधिकरणले स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । आज (सोमबार) आयोजित वार्षिकोत्सवमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण सञ्‍चित नाफा गर्नसमेत सफल भएको बताए ।

आर्थिक वर्ष ०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित घाटा रहेको प्राधिकरण गत आर्थिक वर्ष ०७६र७७ मा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्‍चित नाफा गर्न सफल भएको उनले बताए । प्राधिकरणले गत आर्थिक वर्ष ०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको प्रतिवेदन प्रस्तुत गरे । आव ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछि प्रत्येक वर्ष निरन्तर नाफा गर्न सफल भएको छ । विगत दुई वर्षदेखि प्राधिकरण सार्वजनिक संस्थानमा सबैभन्दा बढी नाफा कमाउने संस्थान बनेको घिसिङले बताए ।

कार्यकारी प्रमुख घिसिङले ४ वर्षअगाडि घण्टौं लोडसेडिङ खेप्नुपरेको स्थितिबाट पार पाउँदै अब अँध्यारोमा बस्नुपर्ने दिनको अन्त्य भएको बताए । “४ वर्षअघि जुन अँध्यारोस्थितिमा थियौं, अब अँध्यारोमा फर्कनु पर्नेछैन,” उनले भने । घिसिङले प्राधिकरण सम्हालेदेखि लोडसेडिङ अन्त्य गर्न सफल हुँदै आएका छन् ।

चार वर्षअगाडि २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट चार वर्षको अवधिमा १५.२७ प्रतिशतमा झरेको उनले बताए । चार वर्षमा करिब ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरण वित्तीय रुपमा सवल बन्दै गएको उनले बताए । यस्तै यस अवधिमा विद्युत् खपत पनि बढेको उनले बताए । चार वर्षअगाडि ६३ प्रतिशत रहेको विद्युत् खपत अहिले बढेर ८६ प्रतिशत पुगेको छ ।

विद्युत् आयात घट्यो, निर्यात बढ्यो
प्राधिकरणले भारतबाट आयात गरिएको विद्युत्‌को अंश घटेको जनाएको छ । भारतबाट आयात घटेको र नेपालबाट भारतर्फको निर्यात बढेको प्राधिकरणले जनाएको छ । अहिले भारतबाट २२ प्रतिशत मात्रै विद्युत् आयात भएको उनले जनाए । अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत आयात घटेको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर १० प्रतिशतमा राख्‍ने योजना रहेको घिसिङले बताए । यसैगरी प्रतिव्यक्ति वार्षिक विद्युत् खपत २६० युनिट पुगेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष ०७२/७३ मा वार्षिक खपत युनिट १३१ थियो ।

२०२२ सम्म सबै नेपालीको घरमा बिजुली
प्राधिकरणले सन् २०२२ सम्म सबै नेपालीको घरमा बिजुली पुर्‍याउने लक्ष्य राखेको छ । वार्षिकोत्वमा प्राधिकरणका उप(कार्यकारी निर्देशक हरराज न्यौपानेले सन् २०२२ सम्म उक्त लक्ष्य हासिल गर्ने बताए ।

सबै कर्मचारीको कोरोना बिमा, संक्रमण भए प्राधिकरणको खर्चमा उपचार
वार्षिकोत्सव कार्यक्रममा कार्यकारी प्रमुख घिसिङले सबै कर्मचारीको कोरोना बिमा गरिएको बताए । उनले कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भए उपचारको सबै खर्च प्राधिकरणले व्यहोर्ने निर्णय भएको जानकारी गराए । यस्तै उपचार गर्न अस्पताल नपाएको अवस्थामा समेत प्राधिकरणले व्यवस्थापन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

SHARE THIS