पाँच दिनमा पार्टीको सिनेरियो परिवर्तन हुन्छः प्रधानमन्त्री ओली

How KP Oli failed the nation

काठमाडौं, साउन २९ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी -नेकपा_का अध्यक्ष केपी शर्मा ओलीले हाल पार्टीभित्र जारी गतिरोध पाँच दिनभित्र अन्त्य हुने दाबी गरेका छन्।

एपीवान टेलिभिजनबाट बुधबार राति प्रसारित द ब्राभो डेल्टा शो'मा पत्रकार भूषण दाहाललाई दिएको अन्तरवार्तामा ओलीले यस्तो दाबी गरेका हुन्।

हाल खिचातानीकाबीच बढिरहेको पार्टीभित्रका सम्बन्धहरू हप्ता-दश दिनमा गाँसिनेछ भन्ने प्रश्नको जवाफ दिदैं प्रम ओलीले यस्तो बताएका हुन्।

'कति दिन भन्नुभयो तपाईंले हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो। भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला', अन्तरवार्तामा उनले भने।

अन्तरवार्तामा उनले पार्टी फुटाउन लागेको देखि गुट चलाएको भन्ने चर्चालाई अस्वीकार गरेका छन्।

'म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो मेचीकाली जनसागर उर्लेको देख्नुभयो देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। म भन्दा अघि त लड्ने चलन थिएन नि। लोकप्रिय मान्छे अगाडि बढ्न दिने चलन थिएन।'

यसैगरी उनले तात्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आधा आधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको भएपनि पछि पाँचै वर्ष सरकारको नेतृत्व आफूले लिने सहमति भएको र त्यो सहमति दहाल स्वयंको प्रस्तावमा भएको बताए।

'हामीले बीचमा थप केही सम्झौता गर्‍यौं। सहमति थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै डिमान्ड छैन। जो थप सहमति भए ती प्रचण्डजीले नै भन्नुभएकाले भएका सहमति हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले -प्रचण्ड_ पनि पटक– पटक भन्नुभएको छ। हामीले के भन्यौं भने पाँच वर्ष नै यो सरकार रहन जरुरी छ, अन्तरवार्तामा उनको जवाफ थियो।

त्यसैगरी उनले पार्टीभित्र देखिएको समस्यासम्बन्धी प्रश्नमा जवाफ दिदैं त्यो खासै ठूलो समस्या नभएको बताएका छन्।

'म तपाईंलाई भनिरहेको छु– पार्टीभित्रको समस्या कुनै ठूलो समस्या होइन, यसलाई हामीले समाधान गर्न सक्छौं, गर्नुपर्छ। देशको आवश्यकता, जनताको आवश्यकता, भावनालाई हेर्नुपर्छ, त्यसलाई कदर गर्नुपर्छ र हामी अगाडि बढ्नुपर्छ। म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ती पत्रकार सम्मेलन भयो, मैले कुनै जवाफ पनि दिइनँ।

तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनुभएको छ। म चुप लागेर बसेको छु। मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ, आदि इत्यादि जस्ता अभिव्यक्ति पनि दिएर पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार होऊ भन्ने खाललै अभिव्यक्ति दिइरहनुभएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन।

SHARE THIS