जग्गाको लालपुर्जासहित पैसा लगेर श्रीमति बेपत्ता, असक्त श्रीमान र छोराछोरीको बिचल्लीमा



सन्तोषकुमार गुप्ता 
दाङ, भदौ १३। दाङमा एक महिला जग्गाको लालपुर्जा लगेर बेपत्ता भएपछि असक्त श्रीमान र छोराछोरी बिचल्लीमा परेका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी कर्मपुरा रोकामगर करिब ९ महिनादेखि जग्गाको लालपुर्जा लगेर बेपत्ता हुँदा घरमा काम गर्न नसक्ने श्रीमान र छोराछोरी बिचल्लीमा परेका हुन । कर्मपुरा घरबाट निस्किदा जग्गाको लालपुर्जा, नागरिकता, श्रीमानले बिदेशबाट कमाएर पठाएरको सबै पैसा लिएर बेपत्ता हुनुभएको छ ।

साथमा उहाँले ८ वर्षीया छोरीलाई पनि लिएर गएको जेठी छोरी सिमा रोकामगरले जानकारी दिनुभयो । यतिबेला बेपत्ता हुनुभएकी कर्मपुराका श्रीमान कालीबहादुर रोकामगर र आफ्ना तीन छोराछोरी मात्र घरमा रहनुभएको छ । आफ्नो ठूलो दिदीकी छोरीको न्वारानमा जान्छु भनि निस्केकी आमा अहिलेसम्म सम्पर्कमा नरहेको छोरी सिमाले बताउनुभयो । बुवा कालीबहादुर रोका बैदेशिक रोजगारका क्रममा साउदीमै रहेका बेला आमा कर्मपुरा बेपत्ता भएको सिमाको भनाई छ ।

गोरो वर्ण र ४० वर्ष उमेरकी कर्मपुरा घरबाट निस्किने बेला कस्तो कपडा लगाउनुभएको थियो भन्ने कसैलाई पनि थाहा नभएको बुझिएको छ । उनले प्रयोग गर्ने ९८६४५७४३५१ र ९८०९७८५६४३ नम्बरको मोबाइल अहिले पनि स्वीच अफ नै छ । कर्मपुरा अपहरणमा परेको वा कुनै परपुरूषसँग गएको कुनै आफन्तिसँग पनि जानकारी नभएको छोरी सिमा बताउनुहुन्छ । ‘आमा धेरै जसो फोनमा कुरा गरिरहनु हुन्थ्यो र एक जना अपरिचत व्यक्ति समेत बेला बखतमा घरमै आउने गथ्र्यो’, छोरी सिमाले भन्नुभयो अहिलेसम्म कहाँ गएको भन्ने नै कसैलाई थाहा छैन ।

बेपत्ता कर्मपुरा रोकामगर
कर्मपुरा माइतीघरमा पनि नभएको सिमा बताउनुहुन्छ । २०७५ सालमा धन कमाउन भनि कालीबहादुर रोकामगर साउदीमा पुग्नु भएको थियो । तर उहाँ काम गर्ने समयमा घरको छतबाट लड्दा अहिले अशक्त हुनुहुन्छ । कम्मर भाँचिएको छ। जसोतसो उहाँलाई त्यहाँको सरकारले उपचार त गरिदियो तर घाउ भने पूरा ठीक हुन सकेन । त्यति मात्र होइन उहाँ मेनपावरले पठाएको भिसामा भने जस्तो कमाई नभएपछि अन्यत्र काम गर्ने क्रममा त्यहाँको पुलिसले पक्राउ गरी एक बर्ष जेल सजाय पूरा गरेर घर पठाएको छ । तर घर आउँदा पुग्दा न श्रीमती, न कान्छी छोरी नत पैसाकौडी नत जग्गाको लालपुर्जा नै । सवै श्री सम्पत्ति लगरे श्रीमती वेपत्ता भएपछि अहिले आफुहरु ठूलो समस्या परेको उहाँ बताउनुहुन्छ ।

‘घर भएको ठाउँ ऐलानी जग्गा हो त्यसको लालपुर्जा हुने कुरा भएन । बराखुट्टीमा २० मिटर जग्गा जसोतसो ऋणधन गरेर किनेको थिए । त्यही जग्गाको लालपुर्जा र नागरिकता समेत लगेर गएपछि मलाई ठुलो समस्या आइपरेको हो’, कालिबहादुरले भन्नुभयो । ‘घरमा अन्नपात सकिएको छ, पैसा पनि छैन, छोराछोरी पनि उमेरले साना छन्, कमाउने कोही छैन मेरो कम्मर भाँचिएपछि काम गर्न सक्दैन अब कसरी गुजारा चलाउने र खाने हो रातदिन चिन्ताले सताइरहन्छ’, कालिबहादुरले दुस्ख पोख्नुभयो।

यता कालीबहादुरले श्रीमतिको खोजी गरिदिन इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी समेत दिनुभएको छ । प्रहरीले बेपत्ता कर्मपुराको खोजि गरिएको बताएको छ । साथै कालीबहादुरले अहिले आफुहरु समस्या परेको भन्दै सहयोगको अपील समेत गर्नुभएको छ । सहयोगका लागि उहाँको मोवाइल नम्बर ९८०९७००५३२ रहेको छ ।

SHARE THIS