बाबुराम भट्टराईको भाइको घरमा जसपाको गोप्य बैठक


काठमाडौं,भदौ १२ । जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनका विषय लिएर लफडा चलिरहेको छ । तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको पाँच महिना वित्तिसक्दा पनि हालसम्म समायोजनको कुनै पनि काम शुरु हुन सकेको छैन । ५१ सदस्यीय कार्यकारिणी समितिबाट पदाधिकारी चयन गर्नका लागि सो दलमा नेताहरुलाई हम्मे हम्मे परिरहेको छ ।

समायोजनका काम सम्पन्न गर्नका लागि कार्यकारिणी समिति बैठकमा रहेका पाँचजना पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ । उनीहरुबीच पटक–पटक छलफल भएपनि अझै कुरा मिल्न सकेको छैन । आज कोटेश्वरमा डा। बाबुराम भट्टराईका भाइ शिव भट्टराईको घरमा जसपा नेपालका केही नेताहरुको गोप्य बैठक बसिरहेको छ ।

स्रोतका अनुसार त्यो बैठकमा पार्टीका तीनजना वरिष्ठ नेता डा।बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो मात्र सहभागी छन् । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई त्यहाँ नदेखिएको स्रोतले दावी गरेको छ ।

संसदीय दलको नेता को हुने, कतिजना महासचिव बनाउने, डा।बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष दिने कि नदिने विषयमा पार्टीमा लफडा गरिरहेका छन् । स्रोतका अनुसार राजेन्द्र महतोले जसपा नेपालको संसदीय दलको नेता बन्नुपर्ने माग गरेका छन् ।

तर त्यसमा तत्कालिन समाजवादी पार्टीका नेताहरुले सहमति जनाएका छैनन् । संसदीय दलको नेता उपेन्द्र यादव नै बन्न चाहेका छन् । जसपा नेपालमा संघीय परिषद्को पनि व्यवस्था छ । त्यसको एकजना अध्यक्ष रहने व्यवस्था विधानले गरेको छ तर हालसम्म त्यो अध्यक्ष पद खाली रहेको छ ।

शुरुमा त्यसका अध्यक्षमा डा।बाबुराम भट्टराईलाई राखिएको थियो । तर वरियताक्रममा कुरा नमिलेपछि उनी सो पद छाडेर वरिष्ठ नेतामा बस्न राजि भएका थिए । अझै त्यसको अध्यक्षमा बाबुरामलाई नै ल्याउने प्रयास भइरहेको छ तर वरियताक्रम कस्तो राख्ने विषयमा छलफल भइरहेको छ ।

पार्टी समायोजनका लागि निर्देशिका पनि जारी भइसकेको छ तर अहिलेसम्म काम शुरु भएको छैन । नेताहरुले यसमा कोरोनाको बाहाना बनाएका छन् । तर केन्द्रका नेताहरु भने कोरोनाको महामारीमा पनि बैठकहरु बस्दै आएका छन् ।

SHARE THIS