नेकपामा आज ‘युद्धविराम’, विवाद मिलाउन दोस्रो पुस्ताका नेता सक्रिय

Pushpa Kamal Dahal-led government says it made key gains in eight ...
काठमाडौं,असार १९ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विग्रह चर्किएर विभाजनको तहमा पुगेपछि विवाद मिलाउन दोस्रो पुस्ताका नेताहरू सक्रिय भएका छन् ।
विशेषगरी बिहीबारको बैठक निराशामा बदलिएपछि पार्टी एकतालाई बचाउन दोस्रो पुस्ताका नेताको दौडधूप सुरु भएको छ ।
शुक्रबार बिहान स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले दोस्रो तहका नेतालाई बोलाएर छलफल गरेको योगेश भट्टराईले जानकारी दिए ।
“नेकपामा आज युद्धविरामको अवस्था छ । आज दिनभर अनेक विकल्पको खोजी गर्ने र पार्टी एकतालाई बचाउन पहल लिने तयारी थालेका छौं । नेताहरूले पनि आ–आफ्नो ठाउँबाट पहल लेलान्,” उनले भने ।
स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, शङ्कर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, योगेश भट्टराईलगायत १० नेता भुसालकै निवासमा बसेर विकल्पमा छलफल भएको भट्टराईले बताए । बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको जमघटमा नेकपालाई विभाजन हुन नदिन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिइएको उनको भनाइ थियो ।
“अहिलेको आवश्यकता पार्टी एकतालाई नै बचाउनु हो । पार्टी एकतालाई कमजोर बनाउने छुट कसैलाई छैन । नेताहरूबीच असमझदारी छन् । तर, आगामा घ्यु कसैले थप्नुहुँदैन । सकेसम्म आगो निभाउने कोसिस गर्नुपर्छ । नेताहरूका बीचमा समस्या छन् । त्यही समस्यामा खेल्नु र आफूअनुकूल उपयोग गर्नुहुँदैन भन्ने विषयमा नै कुरा भयो,” उनले भने ।
बैठकलाई युद्धविराम जसरी अलिकति स्थगित गरेर भए पनि समाधान पहिल्याउनुपर्ने कुरा उठेको उनको भनाइ थियो । बैठकमा तीनै पक्षका नेताहरू उपस्थिति थिए । प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूले निर्वाध काम गर्न नदिएको, अप्ठ्यारो मात्रै बनाउने कोसिस भएको बताएका थिए । पुष्पकमल दाहाल पक्षका नेताहरूले ओलीको स्वभाव, दम्भ र अहङ्कारलाई विषय बनाएका थिए । कतिपय नेताहरूले माधव नेपालको भूमिकाका बारेमा पनि कुरा उठाएका थिए ।
सारमा सबैले पार्टी एकता र नेताहरूबीच सहमतिको विकल्प नदेखेको उनले बताए ।
“अहिलेलाई आरोप–प्रत्यारोप रोक्ने । नेताहरूका बीचमा सहमतिको वातावरण बनाउन भूमिका खेल्ने । आगामी महाधिवेशनसम्म पार्टी एकतालाई कुन अवस्थामा लैजाने, नेताहरूका बीचमा विगतमा भएका समझदारी कार्यान्वयन गरे पुग्ने हो कि, नयाँ समझदारी बनाउनुपर्ने हो, त्यसकुरामा छलफल चलाउने, सहमतिको नयाँ विन्दु खोज्ने आदि कुरामा छलफल भयो । यो सुरुआत हो,” भट्टराईले भने, “हामी भीम रावल, गोकर्ण विष्टलगायत हाम्रा पुस्ताका अरू नेतासँग पनि छलफल गर्छौं ।”
मणि थापाले पार्टी एकता सङ्कटको विन्दुमा आएकाले नयाँ समझदारी आवश्यकता भएको बारे छलफल भएको बताए ।
“पार्टी नेताहरूबीच उत्पन्न असमझदारी, अन्तरविरोध हल गर्न पार्टीभित्रका नेताहरूले भूमिका खेल्नुपर्छ भनेर सुरुवात गरिएको हो,” उनले भने, “दुईवटा पार्टी एकता हुनेबेलामा जुन आधार तय गरिएको थियो । त्यही आधारमा टेकेर एकतालाई सम्पन्न गर्ने र सहमति इमानपूर्वक कार्यान्वयन गर्न सुझाव दिने विषयमा कुराकानी भयो ।”

SHARE THIS