शैलेश थापाको सेक्रेट बाबु डीआईजी, छोरो आईजीपी

प्रहरी संगठनप्रति गुमेको विश्वास फर्काउने चुनौति
प्रहरीको नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

गौरव पोखरेल
काठमाडौं, असार २३ । नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बाट महानिरीक्षक आईजीपी नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।

थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन् । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

पूर्वडीआईजीका छोरा

आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक डीआईजी हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् ।

प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् ।

राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् ।

सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् ।

गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन् । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन् ।

उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।

प्रहरी उपरीक्षक एसपी मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर सुडान गएका छन् ।

निवर्तमान आईजीपी ज्ञवालीजस्तै थापा पनि संगठनमा रहँदा त्यति धेरै चर्चामा आएका अधिकृत होइनन् । थापाको नेतृत्व अहिलेसम्म विवादमा पनि परेको छैन ।

झापामा रहँदा थापाले १५ करोड रुपैयाँ पर्ने जग्गा हडप्न भएको अपहरणमा संलग्न एउट हाई–प्रोफाइल गिरोहको पटाक्षेप गरेका थिए । जसमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की राम कार्की० का स्वकीय सचिव राजु आचार्य अग्नि समेत संलग्न थिए ।

झापामा प्रहरी प्रमुख हुँदा थापा ।
चुनौतिका चाङ

नवनियुक्त आईजीपी थापासामु चुनौतिका चाङ छन् ।

विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेको थियो । तर, यसपालि थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेका छन् ।

सरकारले दुईमध्ये जसलाई आईजीपी बनाए पनि स्वीकार गर्ने दुवैले बताएकाले विगतमा जस्तो दुई ब्याचीबीच तिक्ततापूर्ण सम्बन्ध नहुने अपेक्षा गरिएको छ । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ ।

अहिले प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास देखिँदैन । प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने गरेका छन् ।

प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यस्तो परिस्थितिमा थापाले कसरी संगठन हाक्लान् भन्ने निकट भविष्यले बताउनेछ
हालका आईजीपी ठाकुर ज्ञवालीकै अनुभव हेर्ने हो भने उनलाई एक तालिम केन्द्रमा सरुवा हुन शक्ति केन्द्रका ५ जना व्यक्तिबाट सिफारिस आए । तर, ज्ञवालीलाई नै भेटेर कसैले पनि त्यहाँ जाने इच्छा व्यक्त गरेनन् ।

यो ज्ञवालीले संगठनको आन्तरिक सम्बोधनमा उल्लेख गरेको उदाहरण हो । त्यसैले नवनियुक्त महानिरीक्षक थापाको सबैभन्दा ठूलो चुनौति संगठनप्रति गुमेको कर्मचारीको विश्वासलाई फर्काउनु हुनेछ ।

सरुवा–बढुवामा अहिले राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप देखिन्छ । यसलाई मुक्त गर्न थापाले सक्लान् कि नसक्लान् भन्ने पनि चासोको विषय हुनेछ । र, यसको सुरुवात केही समयमै हुने एआईजी बढुवाबाट हुनेछ ।

रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन् । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिल्यै एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।

महामारीका बीचमा नेतृत्व सम्हालेका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ । कोरोना ९कोभिड–१९० का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने थापाकै ब्याजी एआईजी हरिबहादुर पाल नेतृत्वको अपराध अनुसन्धान विभागको निष्कर्ष छ ।

यो अवधिमा चोरी, डकैती, हत्या, घरेलु तथा महिला तथा बालबालिकासम्बन्धी हिंसा, आर्थिक अपराध लगायत हुनसक्ने विभागको रिपोर्ट छ । तीसँगै अहिले प्रविधि जोडिएका अपराध पनि बढी रहेको अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

प्रहरीमा नेतृत्व परिवर्तन हुँदै पिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने चलन छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेका छन् । त्यसैले थापाले कस्तो रणनीति, प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि महत्वपूर्ण हुने ठकुरी बताउँछन् ।

अहिले नेपाली प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा थापासामू समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि छ । ‘संगठन संक्रमणकालीन अवस्थामा रहेका वेला संघीय संरचनामा सही ढंगले लैजानु पर्ने उहाँको चनौति हो’, अवकाश प्राप्त डीआईजी पिताम्बर अधिकारी भन्छन् ।


यो पनि पढ्नुहोस
आईजीपीका दुई दाबेदार हिलो छ्यापाछ्याप होइन, कानेखुसी
अहिले अपराध अनुसन्धानमा संलग्न अधिकृतहरु संगठनकै एम्बुसमा पर्ने गरेका छन् । साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनाइएका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि थापासामू छ ।

विगतमा आरोपित बनेका केही अधिकृतलाई अदालतले ‘क्लीन चिट’ दिइसकेको छ भने कतिपयमाथिको आरोप तथ्यहिन साबित भइसकेको छ । त्यसैले निलम्बन र कारबाही फुकुवाको थप प्रक्रिया कसरी अघि बढ्छ भन्ने पनि चासोका साथ हेरिनेछ ।

प्रहरीले गर्नुपर्ने अपराध अनुसन्धानका जिम्मेवारी सरकारले निजामती सेवाका व्यक्तिलाई नेतृत्व दिएर छानविन समिति बनाउने प्रवृत्ति देखिएका छन् । जसले अनुसन्धान थप गिजोलिएका उदाहरणहरु छन् । थापाले यो अवस्थाबाट संगठनलाई कसरी टाढा राख्न सक्लान् भन्ने पनि हेर्न लायक हुनेछ ।

प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यसका लागि सरकारले प्रहरी अधिकृतहरुसँग छलफल र परामर्श पनि गर्ने गरेको छैन ।

ज्ञवालीका पालामा डीआईजीको दरबन्दी कटौति गर्न खोज्दा गृह सचिव महेश्वर न्यौपानेसँग भनाभन नै पर्‍यो । थापाले अब संगठन कसरी हाक्लान् भन्ने चाहिँ भविश्यले नै बताउला ।
अनलाइनखबर बाट

SHARE THIS