बुटवल र प्युठानमा खोलाले बगाउँदा दुई जना बेपत्ता

खोलाले बगाउँदा मृत्यु
बुटवल ,२४ असार। बुटवल र प्युठानमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
बुटवल–११ बुद्धनगरस्थित पक्की पुल मुनि पैदल हिँड्दै गर्दा मंगलबार साँझ ७ बजेतिर लडेर नदीमा बगेका अन्दाजी ६० वर्षका पुरुष बुधबार मध्यान्हसम्म फेला नपरेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता व्यक्तिको मंगलबार साँझदेखि रातिसम्म र बुधबार बिहानैदेखि १२ प्रहरीले खोजी गरेपनि फेला पार्न नसकेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । नदीमा वेपत्ता उनको नाम ठेगाना खुल्न सकेको छैन ।

यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–३ भाङ्ग्रीबाङकी ५६ वर्षिया हेमा कुँवर रोल्पाबाट प्युठान आउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । रोल्पा र प्यूठानको सिमानामा रहेको घोर खोला तर्ने क्रममा खोलाले बगाई कुंवर बेपत्ता भएकी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरक्षिक राजकुमार बैदवारले जानकारी दिए । उनको खोजी कार्य जारी रहेको बैदवारले बताए ।

एक महिलाको उद्धार
यस्तै गुल्मीको मुसिकोट नगरपालिका(२ थुम्कागैराकी ५५ वर्षीया पवित्रा कुमाल निस्दी खोला तरेर घर जाने क्रममा खोलाले बगाई बेपत्ता भएकीमा प्युटारीस्थित खोलाको किनारामा स्थानियले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल गुल्मीमा लगिएको प्रहरीले जनाएको छ ।

SHARE THIS