रुकुम घटना : कुटपिटबाटै ६ जनाको ज्यान गएको हो [अदालतमा किशाेरीको बयान]

नेपाल आज | बाहिरियाे रुकुम पश्चिम ...
काठमाडौं,असार २३ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अधिकांश अभियुक्तले अदालतसमक्ष बयान फेरेका छन्। प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता रहेको बयान दिएका उनीहरुले अदालतसमक्ष भने इन्कारी बयान दिएका छन्।

६ जनाको ज्यान गएको उक्त घटनाको केन्द्रमा रहेकी किशोरीले यसअघि नवराजसहितका युवाको ज्यान जानुमा आफ्नो बाबु र दाइसमेतको भूमिका रहेको बयान प्रहरीसमक्ष दिएकी थिइन्। किशोरीले भने अदालतसमक्ष पनि बयान फेरेकी छैनन्।

बाल सुधार गृहमा रहेकी किशोरीले अदालतसमक्ष दिएको बयान यस्तो छ
नवराज बिक र मबीच वारदात हुनुपूर्व ३ महिनाअघि अर्थात् गएको चैत महिनाको १४(१५ गतेसम्म माया प्रेम बसेको थियो। फोनमा कुराकानी हुने, फेसबुकमा च्याट हुने, भिडियो कल हुने र भेटघाटसमेत हुने गर्थ्यो।

त्यसभन्दा पछाडि नवराज मेरो घरमा आई रातको समयमा म र मामाघरको बज्यै सुतेको कोठाको झ्यालमा आई रातभर ढुंगा र मकैको खोया हानेको रहेछ। त्यतिबेला मलाई थाहा भएन, बज्यैले देख्नुभएको रहेछ। बिहानपख बज्यैले बुवाआमालाई रातिको कुरा भन्नुभएको रहेछ। बिहानपखसमेत नवराज मेरै घर वरपर घुमफिर गरेको देखि बुवा, आमा दाइले नियन्त्रणमा लिई सामान्य हातपात गरी सम्झाइबुझाई गरी छाडेका थिए।

सो पश्चात मैले आफ्नो प्रतिष्ठामा आँच आएको महसुस गरी सोही दिनदेखि नवराजलाई फेसबुकमा ब्लक गरेको थिएँ। उनीसँग मेरो भेटघाट हुँदैन्थ्यो। तर, वैशाख महिनामा एकपटक भाइको मोबाइलबाट गोठाला जाँदा नवराजसँग मोबाइलमा म्यासेज गरी कुराकानी गरेको थिएँ। त्यसपछि उनीसँग मेरो कुनै पनि चिजबाट सम्पर्क भएको छैन। वारदात भएको मितिमा मैले उनलाई बोलाएको होइन। नवराज के(कसरी केटा लिएर आएको हो मलाई थाहा भएन। मैले नवराजलाई कुटपिट गरी मारेको छैन।

कसरी ६ जनाको ज्यान गयो भन्ने प्रश्नमा किशोरीले बयानमा भनेकी छन्, ‘प्रतिवादीहरुले केटाहरुको पिछा गर्दै जाने क्रममा चौरजहारीको गोइरी औलमा फेला पारी घेरा हाली लखेट्दै भेरीको किनारमा पुर्‍याएर कुटपिट गरेको भन्ने थाहा पाएँ। प्रतिवादीहरुकै कुटाईबाट नवराज बिकसहित ६ जनाको मृत्यु भएको थाहा पाएँ। घटनास्थलमा गएका प्रतिवादीहरुकै कर्तव्यबाट मृत्यु भएको मलाईसमेत पूर्ण विश्वास लाग्छ।’

यसअघि प्रहरीमा दिएको बयानमा समेत उनले प्रतिवादीकै कारण ६ जनाको ज्यान गएको बताएकी थिइन्। प्रहरीसमक्ष उनले भनेकी थिइन् ‘मेरो बुवा, दाइसमेतले नवराज बिक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।’

SHARE THIS