पहिरोमा पुरिएर गुल्मीमा १८ महिने बालकको मृत्यु

स्कुल बसको ठक्करबाट २ वर्षे बालकको ...
गुल्मी,असार १९ । गुल्मीको मुसिकोट र इस्मामा बिहीबार राति गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।
गएराति ११ बजेबाट परेको वर्षाका कारण गएको पहिरोमा परी इस्मा गाउँपालिका वडा नं. १ मल्दीका १८ महिने बालक सिरु सारुको मृत्यु भएको हो।
बालककी आमाको भने पहिरोबाट जीवितै उद्धार गरिएको इस्मा गाउँपालिका वडा नं. १ का अध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए।
घाइतेको उद्धार गरिएको भए पनि पहिरोले सडक अवरूद्ध बनाएकोले उपचारको लागि अस्पताल लैजान नसकिएको खत्रीले बताए।
त्यस्तै, मुसिकोट नगरपालिका वडा नं. २ का भागिरथ घिमिरे पहिरोमा पुरिएका छन्।
उनको शव पहिरोबाट निकाल्न सकिएको छैन।
मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार राति गएको पहिरोमा ६० बर्षका घिमिरे पुरिएका हुन्।
साँझ गाउँकै होटलमा गएका घिमिरे पानी परेपछि घर फर्किन नसकी होटेलमै बास बसेका थिए। वडा नम्बर २ को दर्लुङ हाँडीखोलामा पहिरो जान थालेपछि होटल मालिक हरि बहादुर घिमिरे र उनको परिवारले ज्यान जोगाउन सके पनि भागिरथलाई भने पहिरोले पुरेको वडा अध्यक्ष खत्रीले जानकारी दिए।
खत्रीका अनुसार राति परेको मुसलधारे वर्षापछि निस्दी खोलामा आएको बाढीले पहिरो झारेको हो।
मालिका गाउँपालिकाको ह्वाङ्दी अर्खाबाङबाट बग्न सुरू हुने निस्दी खोला मालिका, ईस्मा र मुसिकोटका विभिन्न क्षेत्र हुँदै बग्ने गर्दछ।
मुसलधारे वर्षापछि आएको बाढीले बगाएको पहिरोले ईस्मा र मुसिकोटमा क्षती पुर्‍याएको ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए।
पहिरोले दुइटै पालिकामा क्षती पुर्‍याएको भए पनि के/कति क्षति भएको छ भन्ने यकिन भइनसकेको विष्टले बताए।
यस्तै, वर्षापछि मुसिकोट वडा नं. २ दलुङका दुर्गा सूर्यवंशीको गोठ माथिबाट झरेको पहिरोले पुरिँदा गोठमा भएका सबै पशु चौपाया मरेका छन्।
त्यस्तै, स्थानीय सात घर उच्च जोखिममा रहेका छन्।
रातभरि परेको अविरल वर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकांश ठाउँका सडक अवरूद्ध भएका छन्।
विकट गाउँ र बस्ती, फोनको टावरले काम नगर्ने र सडक अवरूद्ध हुँदा पूरै क्षतिको विवरण आउन नसकेको मुसिकोट नगरपालिकाकी उप–प्रमुख कमला शर्माले बताइन्।

SHARE THIS