कांग्रेसका संगठन विभागका पूर्वप्रमुख मल्ल पार्टीबाट निष्कासित

बाँके कांग्रेसका संगठन विभागका पूर्वप्रमुख मल्ल पार्टीबाट निष्कासित 
काठमाडौं,असार २४ । नेपाली कांग्रेसले बाँकेका एकजना महासमिति सदस्यलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको छ ।
केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरेको हो ।
मल्लले पार्टीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएर अनुशासन उल्लंघन गरेका कारण निष्कासन गरिएको अनुशासन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले मल्ललाई पाँच वर्षका लागि निष्कासन गरिएको जानकारी दिए ।
“नेपाली कांग्रेस पार्टीको विरुद्धमा सार्वजनिक रूपमा अभिव्यक्ति दिई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित )धारा ३४ को उपधारा १ ९क० बमोजिम पार्टीको अनुशासन उल्लंघन गरेकाले निजलाई नेपाली कांग्रेस पार्टीको विधान २०१७ ९संशोधनसहित० धारा ३४ को उपधारा ८ ९ङ० अनुसार ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ,” केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मल्लले बाँके कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका थिए । उनले गत असोजमा पार्टीकै दबाबमा पदबाट राजीनामा दिनुपरेको थियो । कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा सत्तारूढ नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले कार्यक्रम बिथोलेका थिए ।

उनीहरूले कार्यक्रम बिथोल्ने क्रममा बाँके कांग्रेसकी सभापति किरण कोइरालामाथि आक्रमणसमेत गरेका थिए । नेकपाका कार्यकर्ताको आक्रमणमा परी सभापति कोइरालाको हात भाँचिएको थियो । तर, मल्लले उक्त घटनामा सत्तारूढ नेकपाको संलग्नता नरहेको अभिव्यक्ति दिएका थिए । 

SHARE THIS