यातायात व्यवसायीहरुले निश्चित दुरी कायम गरी सार्वजनिक यातायात सन्चालन गर्न माग


शरद रेग्मी, तुलसिपुर
२३ असार । लामो समयदेखिको लकडाउनका कारण चरम मार खेप्दै आएका यातायात व्यवसायीहरुले निश्चित दुरी कायम गरी लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सन्चालन गर्न माग गरेका छन ।

यातायात व्यवसायीहरुले गरेको अनुरोधलाई बारम्बार सरकारले व्यवास्ता गर्दै आएपछि व्यवसायीहरुले सबै जिल्लाहरुमा आफ्ना व्यवसायीहरुसंग छलफल चलाउन सुरु गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए । मंगलबार तुलसीपुरमा भएको दोस्रो दिनको छलफलमा बोल्दै हमालले सरकार र यातायात महासंघले गाडी चलाउने निर्णय गरे पनि तत्काल सवारीका साधन मर्मत नहुदा सम्म चलाउन नसक्ने अवस्थामा रहेको बताए ।

प्रत्येक गाडीहरु चार महिनादेखि ग्यारेज र बसपार्कमा थन्किएको हुदा तत्काल सरकारले निश्चित प्याकेज घोषणा गरेर व्यवस्थापन गर्नु पर्ने बताए । त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका हमालले हजारौ मजदुर र व्यवसायीहरुलाई सांझ बिहानको छाक टार्न समेत समस्या भएको भन्दै तत्काल स्थानीय सरकार र नेपाल सरकारको ध्यान पुग्नु पर्ने बताए ।

त्यस्तै उनले यातायात व्यवसायीहरु लामो समयको लकडाउनका कारण बैकको किस्ता र बिमाको रकम बुझाउन समस्यामा परेको भन्दै निजि क्षेत्रको योगदान र लगानीलाई राज्यले संरक्षण गर्नु पर्ने बताए । बिगत चार महिना देखिको लकडाउनका कारण पुर्ण रुपमा बन्द रहेको यातायात लकडाउन खुकुलो हुदा सम्म पनि सुचारु हुन नसक्दा सर्वसाधारणहरु मारमा पर्दै आएका छन ।

त्यस्तै अषाढ मसान्तसम्म पनि सरकारले राहतका प्याकेज सार्बजनिक नगरे स्थानीय प्रशासन मार्फत सरकारलाई गाडीको चाबी बुझाउने निर्णय समेत भएको जिल्ला संयोजक भरतनाथ योगीले बताए ।

SHARE THIS