पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ


बाँके, असार २१ । बाँकेमा दुर्लभ ठूलो पाटेबाघको छाला र हड्डीसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ बाट नवराज घर्ती मगर पक्राउ परेको प्रहरीले बताएको छ ।

आफ्नो मकै बारीमा लुकाई राखेको पाटेबाघको एक थान छाला र १० किलो ५ सय ग्राम हड्डी सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राणाले बताउनुभयो ।

शनिबार ५ नम्बर प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको संयुक्त प्रहरी टोलीले ४६ बर्षिय घर्तिमगरलाई आफ्नै घरबाट पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

‘प्रारम्भिक अनुसन्धानमा प्रकाश आचार्य समेतले बाँके राष्ट्रिय निकुञ्जको छेत्रमा उक्त बाघलाई गोली हानी मारेर निकालेको बुझिन आएको छ’, एसपी राणाले भन्नुभयो(‘सो बाघको छाला नवराज घर्तिमगरलाई सोही ठाउँ बस्ने आचार्यले शुक्रबार राख्न दिएका रहेछन।’

सो छाला र हड्डी २४ लाखमा बिक्रि गर्ने सहमतिमा घर्तीले आचार्यबाट लिएको जनाकारी आएको उहाँले बताउनुभयो । प्रहरीले आचार्यसहित सो घटनामा संलग्नहरुको खाजी तीब्र पारेको जनाएको छ । प्रहरीले बरामद गरेको छाला र हड्डीसहित घर्तीलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाएको छ ।

यसैबीच भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं। ६ बाट करीब २ लाख बराबरको पान र सुपर पावर सुर्ति बरामद गरेको हो ।

लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ति शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । करीब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ति गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

बरामद गरिएको पान नष्ट गरिएको छ भने सुर्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

SHARE THIS