नेकपा मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ...

काठमाडौं, असार २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरुले बताएका छन् ।

नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुबै पद नछाड्ने अडान लिएका छन् ।

विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।

पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन अभियान चलाएका हुन् । ‘नेकपामा कुनै विषयमा स्थायी कमिटीले निर्णय गरे पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बोलाउनुपर्छ । निर्णय गर्न सकेन भने पनि केन्द्रीय कमिटीले छलफल गरेर निकास दिनसक्छ’ नेता ठाकुर गैरेले भने ।
पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको उनले बताए ।

SHARE THIS