राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको स्थानीय तहको गुनासो



दाङ, असार १९ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुले जानकारी दिएका छन् । कोरोना भाइरस संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेश सभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रदेश सभा सदस्य सरस्वती गौतम, जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली सम्मिलित अनुगमन टोली समक्ष राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्वाब परिक्षणलाई सहज बनाइदिन आग्रह गर्नुभएको थियो । ‘कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्दै गइरहेको समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको जानकारी आएको छ’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘अब स्वाब कहाँ पठाउने हो जानकारी दिनुप¥यो । प्रतिष्ठानले यसरी एक्कासी स्वाब लिन नमानेपछि हामी समस्यामा परेका छौं ।’

उक्त अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले कोरोना भाइरस बिरुद्धको लडाइमा १ करोड २५ लाख रुपैया खर्च भइसकेको जानकारी दिनुभयो । बित्तीय समस्याले कोरोना बिरुद्धको आगामी लडाइमा समस्या उत्पन्न हुनेमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत रिजालले देउखुरी कोरोना विशेष अस्पतालका लागि बजेटको व्यवस्था गरिदिन प्रदेश सभा सदस्यसमक्ष आग्रह गर्नुभएको थियो । देउखुरीका ४ वटा स्थानीय तहका लागि राप्ती प्राविधिक शिक्षालयमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको भन्दै रिजालले पहिलो चरणमा ४ वटै स्थानीय तहले १०र१० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाखले खर्च व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

उक्त अवसरमा राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले स्वाबको रिपोर्ट समयमा उपलब्ध नहुँदा समस्या भइरहेको जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानिरहेको भन्दै रावतले क्वारेन्टिनमा रहेका ४० जनाको स्वाब संकलन गर्ने नगर्ने द्विविधामा रहेको जानकारी दिनुभयो । प्रतिष्ठानले एउटा स्वाब बाराबर ५ हजार ६ सय रुपैया मागिरहेको भन्दै रावतले त्यसको व्यवस्थापन गरिदिन अनुगमन टोली समक्ष अनुरोध गर्नुभएको थियो । राप्ती गाउँपालिकाले १ हजार ४ सय १० वेडको ३१ वटा क्वारेन्टिन सञ्चालनमा ल्याएको भन्दै रावतले क्वारेन्टिनमा अब १ सय २५ जना मात्र रहेको जानकारी दिनुभयो । राप्ती गाउँपालिकामा २७ जना कोरोना सङ्क्रमित रहेको रावतले जानकारी दिनुभयो ।

अनुगमन टोलीले लमही नगरपालिकाको कोरोना भाइरसको अवस्था पनि बुझेको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले व्यवस्थापकीय पाटोलाई बलियो बनाएका कारण लमहीमा कोरोना भाइरसको जोखिम कम रहेको जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानिरहेको जानकारी आएको भन्दै प्रमुख केसीले त्यसको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

उक्त अवसरमा लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले क्वारेन्टिनमा ३४ जना बाँकी रहेको जानकारी दिनुभयो । ६ सय ६२ वेडको १८ वटा क्वारेन्टिन सञ्चालनमा ल्याइएको भन्दै पौडेलले क्वारेन्टिनमा १ हजार २ सय ५२ जना बसेको जानकारी दिनुभयो । हालसम्म १३ जनामा कोरोना भाइरसको सङ्क्रमन देखिएको भन्दै पौडेलले ६७ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो ।
उक्त अवसरमा प्रदेश सभा सदस्य सरस्वती गौतमले कोरोना भाइरसको महामारीको लडाइमा स्थानीय तहहरुले खेलेको भूमिका प्रसंसनीय रहेको बताउनुभयो । ‘कोरोना भाइरसको लडाइमा स्थानीय तहले खेलेको भूमिकाको प्रसंसा जति गरे पनि कम नै हुन्छ । यो महामारीको समयमा स्थानीय तह र प्रदेश सरकार नभएको भए अवस्था कस्तो हुन्थ्यो होला’, प्रदेश सभा सदस्य गौतमले भन्नुभयो, ‘महामारीको समयमा खट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सबैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

कोरोना बिरुद्धको लडाइमा आर्थिक समस्या उत्पन्न हुन नदिनेतर्फ प्रदेश सरकारले तयारी थालिरहेको भन्दै गौतमले समस्या उत्पन्न भएमा जानकारी गराउन आग्रह गर्नुभयो । संकटको घडीको सबैको समन्वयकारी भूमिका आवश्यक हुने भन्दै प्रदेश सभा सदस्य गौतमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब फर्काएको विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो । ‘संकटको घडीमा सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब फर्काउनु राम्रो कुरा होइन’, प्रदेश सभा सदस्य गौतमले भन्नुभयो, ‘प्रतिष्ठानले स्वाब फिर्ता पठाएको विषयलाई म प्रदेश सभा उठाउँछु, त्यहीबाट केही निकास निस्किएका ।’ अनुगमनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबैको समन्वयात्मक भूमिकाबाट मात्रै कोरोना भाइरस बिरुद्धको लडाइलाई जितिने हुँदा यही दिशामा सबै लाग्नुपर्ने बताउनुभयो । उक्त अवसरमा राप्ती गाउँपालिका र राप्ती गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

SHARE THIS