कोभिड १९ को प्रभावले विप्रेषणमा असर



काठमाडौँ, १४ जेष्ठ २०७७  
वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ ।
सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले मङ्गलबार सार्वजनिक गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा यस्तो देखाएइको छ । सार्वजनिक प्रतिवेदनले चालू आर्थिक वर्षका पछिल्ला महिनाहरूमा भने कोभिड १९ को प्रकोपका कारण बेरोजगारीसँगै गरिबी बढ्ने प्रक्षेपण गरेको छ ।
प्रतिवेदनअनुसार गएको फागुनसम्म वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५० लाख ४१ हजार रहेको छ । तिनीहरूले पठाएको विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । यसले गर्दा देशको गरिबी घटाउन महŒवपूर्ण भूमिका खेलेको अनुमान गर्न सकिन्छ । नेपाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा उच्च विप्रेष्ण भित्राउने मुलुकको सूचीमा रहेको र विगत १० वर्षको औसत विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत रहेको छ ।
प्रतिवेदनमा वैदेशिक रोजगारीले विप्रेषणका साथै सामाजिक तथा मानवीय पुँजीका रूपमा ज्ञान, सीप र अनुभव हासिल भई उद्यमशीलता हासिल हुने उल्लेख गरिएको छ । साथै प्रतिवेदनले पछिल्ला दुई वर्षयता मुलुकभित्र आर्थिक क्रियाकलाप वृद्धिमा रोजगारीको अवसर सिर्जना हुँदै गएको र श्रम गन्तव्य मुलुकबाट श्रमिकको माग कम हुँदै गएकाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।
प्रतिवेदनमा श्रम क्षेत्रमा भएका उपलब्धिमध्ये रोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थित र अद्यावधिक राख्न ७५३ तहमा रोजगार व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गरी सञ्चालनमा आएको उल्लेख गरिएको छ । यस्तै राष्ट्रिय व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा नीति २०६९ स्वीकृत भई कार्यान्वयनमा आएको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म ९६ हजार ७०६ महिला र ९२ हजार १८७ पुरुष गरी एक लाख ९० हजारभन्दा बढीले व्यावसायिक सीप विकास तालिम प्राप्त गरेका छन् भने युवा तथा व्यवसायी स्वरोजगार कोषबाट २०७६ फागुनसम्म २० बैङ्क तथा वित्तीय संस्था र एक हजार ९०५ सहकारी संस्थासँग कर्जा सम्झौता गरी नौ अर्ब ४९ करोड २६ लाख ८५ हजार लगानी भएको छ ।ये समाचार आजको गोरखापत्र दैनिकमा छ ।

SHARE THIS