दाङ स्थायी घर भएका एक प्रहरी नायब निरीक्षकको टिपरको ठक्करबाट मृत्यु

tipper-accident – Daunne News
भक्तपुर, १३ जेठ । दाङको रामपुर स्थायी घर भएका एक प्रहरी नायब निरीक्षकको टिपरको ठक्करबाट मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिनुभएका ४५ वर्षीय प्रहरी निरीक्षक निमबहादुर घर्तीको आज विहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गयराती काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले उहाँलाई एकैसाथ ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएका घर्तीको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरी नायब निरीक्षक घर्ती पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत रहनुभएको थियो । राति काठमाडौँबाट तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नंको खाली टिपर र सोही टिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नंको टिपरले थिमिचोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका दाङ रामपुर स्थायी घर भएका प्रनानि घर्तीमगरलाई ठक्कर दिएको प्रनाउ गरीले बताउनुभयो ।

टिपरको ठक्करबाट गम्भीर घाइते घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले जानकारी दिनुभयो । अनुसन्धानमा टिपर चालक सैंजूले मादक पदार्थ सेवन गरेको र दुवै चालकको लापरवाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

SHARE THIS