प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४३३ पुग्यो

Pradesh-No-5- | Citizen FM 97.5 Mhz
दाङ, १६ जेठ ।
प्रदेश नम्बर पाँचमा कोरोना भाइरसका बिरामीको संख्या चार सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रदेश ५ मा चार सय ३३ जना संक्रमितको संख्या रहेको जानकारी गराइएको हो ।

प्रदेशका हालसम्म ९ जिल्लामा संक्रमित फेला परेका छन् । अहिलेसम्म बर्दिया, बाँके, दाङ, कपिलबस्तु, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, रुकुम पुर्ब र गुल्मीमा बिरामी फेला परेका छन् ।

हालसम्म पाल्पा, प्यूठान र रोल्पामा बिरामी फेला परेका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार बाँकेमा १७१ जना, कपिलबस्तुमा १३६ जना, रुपन्देहीमा ४५ जना, दाङमा २२ जना, बर्दियामा १० जना, नवलपरासी पश्चिममा ५ जना, गुल्मीमा ४ जना, अर्घाखाँचीमा ३ जना र रुकुमपूर्बमा ३ जना संक्रमित भेटिएका छन् ।

गुल्मीमा भेटिएका एक जना भने दाङका स्थायी बासिन्दा हुन् । प्रदेश ५ मा भेटिएका कोरोना संक्रमितमध्ये गुल्मीका एक, अर्घाखाँचीका दुई र बाँकेका एक गरी चार जनाको निधन भएको छ । प्रदेश ५ मा ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।।

SHARE THIS