प्रदेश ५ सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने

बुटवल,६ माघ। प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका सन्दर्भमा सरकारले सोमबार प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका मेयर र उपमेयरहरुसँग छलफल गरेको छ ।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र मैत्री प्रदेश बनाउंदै स्वदेशी विदेशी लगानी भित्राउन वैशाखमा लगानी सम्मेलन गर्न थालेको जानकारी गराए । उनले प्रदेश ५ मा कृषि,उद्योग,पर्यटन,सेवा, खनिज,जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने प्रचुर सम्भावना रहेको र प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्न तयार रहेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित कपिलवस्तु तिलौराकोट लगायतका क्षेत्र र पहाडी क्षेत्रमा हिल स्टेशनहरुमा लगानी गर्न सकिने औंल्याए । प्रदेश सरकारले सस्तो जग्गाको उपलब्धता र पुर्वाधारहरु बनाएर लगानीकर्तालाई सहज वातावरण बनाउन तत्पर रहेको बताए ।
त्यस अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद शर्माले सातवटा प्रदेश मध्ये प्रदेश ५ ले पहिलोपटक आयोजना गर्ने लगानी सम्मेलनले समग्र मुलुकको समृद्धि र विकासमा योगदान पुग्ने बताए । उनले लगानी सम्मेलनमा तुलनात्मक लाभका क्षेत्र र राम्रो परियोजना छनोट गरेर मात्र लगानी गर्न प्रदेश सरकारले सघाउनुपर्ने सुझाव दिए ।
यूकेएडसीप परियोजनाका बलजित बोहराले सरकारी नीति नियमहरु नीज क्षेत्र र लगानीमैत्री बनाउन आग्रह गरे ।लगानी बोर्डका परामर्शदाता अतुल गान्धीले सार्वजनिक निजी साझेदारी लगानीका सम्भावना,चुनौति र समस्याबारे जानकारी गराए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले प्रदेश ५ सरकारले योजनावद्ध आवधिक विकासको अवधारणा अनुसार अल्पकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरेर काम गरिरहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निजी क्षेत्रसँग संस्थागतरुपमा सहकार्य र सम्बन्ध विस्तार गरी स्वदेशी र विदेशी लगानी भित्र्याउने र दातृ निकाय र स्थानीय तहका राय सुझाव लिएर लगानी सम्मेलनलाई फलदायी बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको बताए । निजी क्षेत्रसँगको छलफललाई निरन्तरता दिने मरासिनीले बताए ।

SHARE THIS